

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप जारी

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
आइतबार (आज)बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका हुन् ।
प्रमुख सचेतक दुर्गाकुमारी कामीले दलका नेता शाहको निर्देशनअनुसार एमालेका २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी भएको जानकारी गराएकी छन् । तर एमाले संसदीय दलले गरेको ह्वीप पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नमान्ने भएका छन् ।
केन्द्रीय कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको हो । प्रदेशसभामा एमालेको ओली पक्षका ७ जना सांसद रहेका छन् ।

