प्रदेश प्रमुखलाई मुख्यमन्त्री राउतको जवाफ- संविधान प्रधानमन्त्री ओलीलाई पनि लागू हुनुपर्छ


जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई आफ्नो प्रतिक्रिया दिएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई मन्त्रिपरिषद समावेशी नभएको भनी पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा मुख्यमन्त्री राउतले भने, ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु’ मुख्यमन्त्री राउतले भने ।

प्रदेश प्रमुखले स्मरणपत्र बुझाएपछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले ध्यानआकृष्ट गराउनुभएको छ । ध्यानआकृष्ट भएको छ ।’

जेठ २८ गते प्रदेश २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएका थिए । उनले महिला, दलित, जनजाति, शहीद परिवार, गैरमधेसीको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउन सुझाव दिएका थिए ।

मुख्यमन्त्री राउतले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी व्यवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा पनि लागु हुनुपर्ने बताए । ‘तपाईंले हेरिराख्नुभएकै छ संघीय सरकार र अन्य प्रदेशहरुमा पनि त्यस्तै छ । हरेक निकायमा समावेशी समानुपातिक, विभिन्न उत्पीडनमा रहेका समुदायहरुको सरकारमा प्रतिनिधित्व हुनुपर्छ । यो त एउटा वैधानिक प्रावधान नै हो’ मुख्यमन्त्री राउतले भने ।

 

प्रतिक्रिया