भारतमा गत २४ घन्टामा थप ६५ हजारमा कोरोना संक्रमण, ३ हजारको मृत्यु


काठमाडौंं – दोस्रो लहरको कोरोना संक्रमणमा सबैभन्दा बढी चपेटामा परेको नेपालको छिमेकी मुलुक भारतमा संक्रमित हुनेको संख्या घट्दै गएको छ । भारतमा पछिल्लो २४ घन्टामा ६५ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख २४ हजार २६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १० लाख ३८ हजार ७९४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ३ हजार ७१ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७० हजार १६८ पुगेको छ ।

 

प्रतिक्रिया