निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख श्रेष्ठलाई कारबाही गर्न गृहको निर्देशन


काठमाडौं – आइतबार बिहान निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठलाई गृह मन्त्रालयले कारबाहीका लागि पत्र काटेको छ ।

मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

‘ब्यहोरा यसैसाथ संलग्न छ, ब्यहोरा अवगत गर्दै आवश्यक कानुन बमोजिम कारबाही गरी सो को जानकारी मन्त्रालयलाई गराउने’ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने बताए छन् । ‘गृहबाट पत्र आएको छ’, पराजुलीले भने, ‘पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ ।’ गृहको पत्रसँगै प्रजिअ पराजुलीलाई कारबाही गर्न थप दबाब सिर्जना भएको छ ।

गत आईतबार प्रमुख श्रेष्ठको स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

 

प्रतिक्रिया