

गगन थापा भन्छन्– ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार, सफल हुन दिन्नौं

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले नदीजन्य पदार्थ निकासीका लागि दिएको अनुमति नीतिगत भ्रष्टाचार भएको बताएका छन्। उनले उक्त काम सफल नहुने दाबी समेत गरेका छन्।
बुधबार ट्वीट गर्दै थापाले यस्तो जनाएका हुन्। उनले भनेका छन्,‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।’
वातावरण र चुरे संरक्षणमा सरकार असंवेदनशिल भएको प्रष्ट देखिएको भन्दै उनले आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको बताएका छन्।
उनले भनेका छन्,‘चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’
थापाले यस्ता काम रोक्न आम जनतासँग अपिल गर्दै भनेका छन्,‘अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।’

