खाने तेलको मूल्य बढ्नुकाे कारण यस्तो छः नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ


काठमाडौं – खाने तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशोधित खाने तेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक चासो व्यक्त भएपछि संघले आज एक विज्ञप्ती जारी गर्दैै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय स्तरमा नै प्रशोधित खाने तेलको कच्चा पदार्थको मूल्यमा बृद्धि हुँदा तेलको मूल्यमा बृद्धि हुन गएको संघले स्पष्ट पारेको छ ।

‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

सन् २०२० को मार्चमा ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अबधिमा १ हजार २७९ डलर भएको छ । यस्तै, एक वर्ष अगाडी ६५६ डलर रहेको सनफ्लावरको तेलको मुल्य एक हजार ५८० भएको छ ।

संघका सदस्य उद्योगहरुबाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरिएको र हालको मुल्यबृद्धि पनि अन्तर्राष्ट्रिय बजारमा भइरहेको मुल्यबृद्धिको कारणले मात्र भएको संघले जनाएको छ ।

प्रतिक्रिया