लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रियसभा सदस्य निर्वाचित, एमाले उम्मेदवार ५४६ मतले पराजित


काठमाडौं – लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्।

खड्कालाई ५४६ मतभारले हराउँदै पाण्डे विजयी भएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए।

प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।

यसअघि ६ जेठमा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए। काँग्रेस–माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटा विजयी भएका थिए।

प्रतिक्रिया