यस्तो बन्न सक्छ ओली नेतृत्वको पुनर्गठित चुनावी सरकार, कसलाई कुन मन्त्रालय?


काठमाडौं– चुनावी सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन र जिम्मेवारी हेरफेरको तयारी थालेका छन्। यस क्रममा खाली रहेका मन्त्रालयसहित सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि ल्याउने अभ्यास सुरु भएको उच्च स्रोतले दाबी गरेको छ।

चुनावका लागि राष्ट्रिय सरकारको आह्वान गरेका ओलीले मन्त्रिपरिषदमा सहभागी हुने दललाई उचित जिम्मेवारीसहित ल्याउने तयारी गरेका हुन्।

पुनर्गठित नयाँ सरकारमा जसपाबाट राजेन्द्र महतोलाई उपप्रधानसहित भौतिक निर्माण मन्त्रालय दिने तयारी भएको छ। जसपालाई ५ मन्त्रालय दिने अभ्यासमा प्रधानमन्त्री ओली छन्। धेरै मन्त्रालयमा दाबी गरे पनि राष्ट्रिय सरकार गठनका निम्ति जसपालाई ५ वटा दिने लगभग सहमति भइसकेको बताइएको छ।

यस्तै, सरकारमा आउँदा राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयसहित २ मन्त्रालय दिने तयारी ओलीले गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनका क्रममा माओवादीबाट एमालेमा आएका पुराना मन्त्रीलाई निरन्तरता नदिए पनि उनीहरुको सिफारिसमा तीन मन्त्री हेरफेर गरी जिम्मेवारी दिने तयारीमा ओली जुटेको स्रोतको दाबी छ।

यसैगरी चुनावी सरकारको मन्त्रिमण्डलमा एमालेका तर्फबाट युवा नेता महेश बस्नेत र निरु पाललाई पनि जिम्मेवारी दिने तयारी भएको छ। सुदूरपश्चिमसहित महिलाको प्रतिनिधित्वका लागि पाललाई मन्त्री पद दिने छलफल बालुवाटारमा भएको स्रोतले दाबी गरेको छ।

‘कसरी अगाडि बढ्ने भन्ने अन्य विकल्पमा पनि परामर्श र छलफल भइरहेका छन्। सकभर सरकारमा सदनमा प्रतिनिधित्व गर्ने सबैको उपस्थिति चहानुभएको हो तर विपक्षी गठबन्धन आउने सम्भावना कम रहेकाले यस्तो तयारी भएको हो’, स्रोतले भन्यो।

यद्यपि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा यहि साताको केही दिनमा टुंगो लागी चुनावतिर मुलुक गए सरकार यस्तै हिसाबले पुनर्गठन हुने बताइएको छ।

पछिल्लो पटक राप्रपा अध्यक्ष थापाले चुनावको वकालत गरिरहेका छन्। उनले ओली सरकारले गरेको निर्णयअनुसार चुनाव हुनुपर्ने भनेकाले पनि मन्त्रिपरिषदमा उनलाई ल्याउन लागिएको हो। ओलीको अघिल्लो कार्यकालमा थापाले उपप्रधानसहित परराष्ट्र मन्त्रालयकै जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया