

अमेरिकी संसद भवन आक्रमण प्रकरण : छानविन गर्न आयोग गठन प्रस्ताव अस्वीकृत

काठमाडौं – अमेरिकाको माथिल्लो सदनले गत जनवरी ६ मा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन नहुँने भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अस्वीकृत गरेसँगै आयोग गठन नहुँने भएको हो ।
अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । आयोगको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको समर्थन प्राप्त भए पनि ४ मत अपुग भएको हो।
उक्त प्रस्ताव पारित हुनका लागि फिलबस्टर नियम अन्तर्गत ६० सिनेटरको समर्थन चाहिन्थ्यो । तल्लो सदनमा भएको मतदानमा ३५ रिपब्लिकन सांसदले पक्षमा मतदान गरेका थिए ।
जनवरी ६ मा राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए । उक्त आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

