वकिलहरू गोविन्द बन्दी र शम्भु थापाको संवैधानिक इजलाशमा ‘नाजायज प्रश्न’
प्रधानन्यायाधीश राणाको उत्तर– हरेक न्यायाधीशमा प्रश्न नउठाउनुहोस्
काठमाडौं– रिट निवेदन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट संवैधानिक इजलाशमा शुक्रबार बहस गरेका वकिल गोविन्द बन्दी र शम्भु थापाले गरेको प्रश्न ‘नाजायज’सिद्ध भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको ५ सदस्यीय संवैधानिक इजलाशका एक जना न्यायाधीश बमकुमार श्रेष्ठलाई हटाउनुपर्ने बन्दी र थापाको माग थियो।
२३ फागुनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई जिम्मा लगाउँदै एमाले र माओवादी ब्युँताउने आदेश दिएका दुई न्यायाधीश मध्ये श्रेष्ठ पनि परेका कारण प्रतिनिधि सभा विघटनको बहस भएको इजलाशमा बस्न नपाउने बन्दी र थापाको माग थियो।
जसलाई प्रधानन्यायाधीश राणाले जायज प्रश्नका रुपमा लिएनन्। बरु, उनले उक्त मागलाई खारेज गर्दै भने,‘हरेक न्यायाधीशमा प्रश्न नउठाउनुहोस्, विश्वास गर्नुहोस्। भोली फेरि अर्को न्यायाधीशमाथि प्रश्न अर्काले गरिदियो भने?’
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र श्रेष्ठ छन्। यसअघि ५ पुसमा सदन विघटन हुँदाको मुद्दा सुनुवाईको संवैधानिक इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका बारेमा प्रश्न उठेपछि उनी हटेका थिए।
बन्दी र थापाले सोही हिसाबले गर्न सकिने हाँकका भरमा उक्त प्रश्न गरे पनि इजलाशको नेतृत्व गरिरहेका प्रधानन्यायाधीशले जवाफ दिएर मुद्दामा केन्द्रित हुन निर्देशन दिए।
आइतबार उक्त मुद्दामा निरन्तर सुनुवाई हुनेछ। तर न्यायाधीश श्रेष्ठ हटाउनुपर्ने मागका विषयमा चर्चा हुने वकिल थापाको जिकीर छ। तर, किन हुने भन्ने विषयमा भने उनले स्पष्ट उत्तर दिएका छैनन्।