पिसिआर प्रयोगशालालाई प्रदेश सरकारबाट ५० लाख सहयोग


दमौली – तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ ।

पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पिसिआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ ।

प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।

 

प्रतिक्रिया