

२४ घन्टाको मृत्युमा नेपाल ‘टपटेनमा’ ! भारतमा ३८८० र अमेरिकामा ६३६ को मृत्यु

काठमाडौं– नेपाल अघिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा ‘टप–टेन’ स्थानमा रहेको छ । पछिल्ला दिनहरुमा अन्य देशहरुमा मृतक संख्या घट्दो क्रममा देखिए पनि नेपालमा भने अहिलेसम्मकै धेरै देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घन्टामा नेपालमा २ सय ४६ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर १२ हजार ९ सय ३ जनाले ज्यान गुमाएका थिए । ती मध्ये सबैभन्दा धेरै भारतमा ३ हजार ८ सय ८० रहेको छ भने त्यसपछि ब्राजिलमा २ हजार ४८५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा ६ सय ३६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख १ हजार ९ सय ४९ जना पुगेको छ ।
पछिल्ला दिनमा कोरोनाले आक्रमन्त बनाइरहेको भारतमा पछिल्लो १ महिनादेखि दैनिक सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या देखिँदै आएको छ ।
भारतमा हालसम्म २ लाख ८७ हजार १ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् भने २ करोड ५७ लाख ७१ हजार ४ सय ५ जना संक्रमित देखिएका छन् । पछिल्ला केहीदिनयता भारतमा दिनप्रतिदिन संक्रमित संख्या भने घट्दो क्रममा देखिएको छ ।
गत २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भारत र ब्राजिलपछि अमेरिका, अर्जेन्टिना, कोलम्बिया, रसिया, पोल्यान्ड, जर्मनी, मेक्सिको र नेपाल क्रमशः तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।
हालसम्म विश्वभर १६ करोड ६६ लाख ४० हजार ६ सय १८ संक्रमित भएका छन् भने ३४ लाख ३१ हजार १ सय २१ जनाको मृत्युभइसकेको छ । त्यस्तै हालसम्म १४ करोड ५७ लाख ९१ हजार ५ सय ६४ जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भएकोछ ।

