‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको खोप दिन सक्दैनौँ’- सिरम इन्स्टिच्युट


नयाँ दिल्ली – भारतले तत्काल कोरोना भाइरसविरुद्धको खोप निर्यात गर्न नसक्ने बताएको छ ।खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटले भारतमा बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले अन्य मुलुकमा यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने प्रष्ट पारेको हो ।

‘हामीले यो पनि बुझ्नुपर्दछ कि यो महामारी भौगोलिक वा राजनीतिक सीमाहरू द्वारा सीमित छैन।हामी विश्वव्यापी रूपमा सबैले यस भाइरसलाई हराउन सक्षम नभएसम्म सुरक्षित हुँदैन। यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं।’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

योसँगै नेपालको खोप अभियान प्रभावित हुने भएको छ । नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले अग्रिम रकम भुक्तानी गरे पनि भारतमा दोस्रो लहर सुरु भएपछि तालिकाअनुसार खोप पाउन नसकेको हो । भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ।

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्। त्यसलाई निरन्तरता दिन सरकाले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया