

कति रह्यो त यसवर्ष अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको कमाइ ?

न्यूयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको गतबर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । ट्याक्स फाइल गर्ने डेडलाइनको अन्तिम दिन बाइडेन दम्पत्तिले गरेको ट्याक्स फाइलको विवरण सार्वजनिक गरिएको हो ।
बाइडेन दम्पत्तिले सन् २०२० मा कुल ६ लाख ७ हजार ३ सय ३६ डलर आम्दानी गरेका छन् । उनीहरुले संघीय आयकर वापत १ लाख ५७ हजार ४ सय १४ डलर तिरेका छन् जुन संघीय आयकर दरको २५ दशमलव ९ प्रतिशत हो ।
बाइडेन दम्पत्तिले २३ औं बर्षपनि आफ्नो आम्दानीको विवरण सार्वजनिक गरेका हुन् । सन् २०१९ मा चुनावी अभियान सुरु भएयता बाइडेन दम्पत्तिको आम्दानीमा गिरावट आएको देखिएको छ । उपराष्ट्रपतिको पदावधि सकिएपछि सन् २०१७ देखि २०१९ सम्ममात्र बाइडेन दम्पत्तिले १५ मिलियन डलर भन्दा बढी कमाएका थिए । यो आम्दानी अधिकांश पुस्तक बिक्रि र भाषण कार्यक्रमको थियो ।
बाइडेन दम्पत्तिले संघीय कर फाइलको रेकर्डमात्र नभई डेलावर राज्यमा गरेको कर फाइलको रेकर्ड समेत सार्वजनिक गरेका छन् । उनीहरुले राज्यमा आयकरबापत २८ हजार ७ सय ९४ डलर तिरेका छन् । प्रथम महिला जिल बाइडेनले भर्जिनियाको कलेजमा पढाएबापत गरेको आम्दानी स्वरुप त्यहाँ पनि उनले ४४३ डलर तिरेकी छिन् ।
यसैबीच उपराष्ट्रपति कमला ह्यारिस दम्पत्तिको पनि आम्दानीको विवरण सार्वजनिक गरिएको छ । उनीहरुले आम्दानीको विवरण सार्वजनिक गरेको यो १७ औं बर्ष हो । सन् २०२० मा उनीहरुले १६ लाख ९५ हजार डलर आम्दानी गरेका छन् । उनीहरुले संघीय करबापत ६ लाख २१ हजार ८ सय ९३ डलर तिरेका छन् । उनीहरुले राज्यमा करवापत १ लाख २५ हजार ४ डलर तिरेका छन् ।

