गत वर्षको अन्तबाट शुरु भएको लकडाउन खुकुलो गर्दै इंग्ल्याण्ड


काठमाडौं – इंग्ल्याण्डमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन आज (मे १७) बाट खुकुलो गरिएको छ। लकडाउन पछि टेकअवेमा मात्र सिमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो ।

सरकारको रोडम्याप अनुसार नै आजबाट लकडाउनको तेस्रो चरण अनुसार थप सहज गरिएको हो । सन् २०२१ शुरु भएयता पहिलोपटक पब, बार , क्याफे र रेष्टुरेन्टमा इन्डोर सर्भिस संचालन भएको छ, तर टेबल सर्भिस मात्र अनुमति दिइएको छ ।

यसैगरी मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न र रात बिताउन (ओभर नाइट) पाउने भएका छन् । केहि समय अघिबाट घरबाहिर गार्डेनमा मात्र भेटघाट गर्न पाउने नियम लागू गरिएको थियो। होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् ।

लामो समयसम्म टेकअवे सर्भिसमा सिमित रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरु सरकारको नयाँ नियमसँगै आशावादी र उत्साहित भएका छन् । केहि दिन अघिबाट आउटडोर सर्भिस संचालन गर्न अनुमति पाएपनि अधिकांश नेपाली रेस्टुरेन्टहरुमा इन्डोर सुविधा मात्र उपलब्ध भएकाले त्यसबाट खासै लाभान्वित नभएको उनीहरु बताउछन् ।

नयाँ नियम अनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइरसको जोखिम बढी हुने भएकाले सचेत रहन भने अपिल गरेको छ ।

बिहे वा रिसेप्सनमा ३० जनासम्म अतिथि बोलाएर रमाइलो गर्न अनुमति दिइएको छ । तर, बिहे समारोहमा नाच्न भने अझै प्रतिवन्ध छ । अन्त्येष्टिमा यसअघि तोकिएको सिमित संख्या सहभागी हुन पाउने नियम हटाइएको छ । यद्यपि, ठाउँ हेरि सहभागितामा नियन्त्रण गर्न सकिनेछ ।

सिनेमा, थिएटर, कन्सर्ट हल र संग्रहालय पुनः खुलेका छन् । यसका साथै केटाकेटीको खेल क्षेत्र, इन्डोर खेल गतिविधि र अभ्यास कक्षाहरू, साना र स्टिम कोठा पनि खुल्ला भएका छन् । एडल्ट सोसल केयर, मेडिकल, रिटेल, हस्पिटालिटी र बिजनेस सेटिङमा भने सामाजिक दूरी नियम कायमै छ ।

केयर होम बस्नेले ५ जनासम्म नाम तोकिएका आगन्तुक बोलाउन पाउनेछन् । अब आउटडोर वृहत खेल र अन्य इभेन्ट्समा ४ हजारसम्म, ठूला इन्डोर इभेन्ट्समा एक हजार र रंगशालामा हुने ठूला खेलमा १० हजारसम्म दर्शक जान सक्नेछन् ।

सरकारले ग्रीन लिस्टमा परेका देशहरु पोर्चुगल, जिब्रलटार, इजरायल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, ब्रुनाइ, आइसल्याण्ड, फारोइ आइल्याण्ड र ब्रिटिश टेरोटोरीमा पर्ने साना आइल्याण्डहरुमा होलिडे जान छुट दिएको छ ।

कोरोना संक्रमण, मृत्यु दर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएसँगै सरकारको पूर्व घोषित रोडम्याप अनुरुप आजबाट तेश्रो चरणमा लकडाउन थप सहज गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार नयाँ भेरियन्टको डर बाबजुद सरकार पूर्व निर्धारित रोडम्याप अनुसार नै अगाडि बढ्ने बताएका थिए । अर्को जुन २१ को रोडम्याप भने नयाँ भेरियन्ट बढे ढिलाइ हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया