माेदी विराेधी पाेस्टर शेयर गर्दै राहुल गान्धीकाे ट्वीट : मलाई पनि पक्राउ गर


नयाँ दिल्ली – भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको छ । प्रधानमन्त्री मोदीको आलोचना गर्ने र विरोधमा पोस्टर टाँस्ने २५ जना पक्राउ परेका बीबीसी हिन्दीले लेखेको छ ।

राजधानी दिल्लीमा प्रधानमन्त्री मोदीको आलोचना गरिएको पोस्टर टाँस्ने क्रम बढेपछि प्रहरीले पाेस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेमा धेरैजसो गरिब र मजदुर रहेका पनि खबरमा उल्लेख गरिएको छ ।

भारतीय सञ्चारमाध्यम ‘इन्डियन एक्सप्रेस’ का अनुसार दुई छाक जोहो गर्न पैसाका लागि उनीहरूले यो पोस्टर टाँसेको पाइएको छ । पोस्टरमा आफ्ना बालबालिकालाई दिइने खोप किन विदेश निर्यात गरेको भन्दै प्रश्न गरिएको छ ।

प्रधानमन्त्री मोदीविरुद्ध पोस्टर टाँस्नेहरू पक्राउ पर्न थालेपछि भारतीय कांग्रेस लगायतका दलले विरोध गरेका छन् । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले माेदीकाे विराेध गरिएकाे पाेस्टर शेयर गर्दै आफूलाई पक्राउ गर्न चुनाैती दिनुभएकाे छ ।

केही समययता भारतमा कोरोना महामारी फैलिए पनि सरकारले रोकथाममा ध्यान नदिएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भईरहेको छ । प्रधानमन्त्री मोदीले कोरोना रोकथामका लागि भन्दा पनि आफ्नो आलोचना दबाउन बढी समय खर्चिएको टिप्पणी हुन थालेको छ । बीबीसी हिन्दी

प्रतिक्रिया