

कोरोना संक्रमणबाट विराटनगरमा आमा-छोराको मृत्यु

विराटनगर – कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा-छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा एकदिन अघिपछि मृत्यु भएको हो ।
बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।
बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो ।
बुधबार राति मृत्यु भएकी आमालाई घाटमा अन्त्येष्टिका लागि कान्छा छोराले लिएर गएका थिए । आमाको अन्त्येष्टि नसकिँदै उनका ४२ वर्षे दाजुको पनि मृत्यु भयो । आमाको अन्त्येष्टिका लागि बिहिबार अपरान्ह घाटमा लगेर चिता जलाउने तयारी भइरहँदा अस्पतालमा छोराको पनि मृत्यु भएको थियो।

