सात विदेशी मुलुकसँग सहयोगका लागि सरकारद्वारा पत्राचार


काठमाडौं – सरकारले विदेशी मुलुकसँग सहयोगका लागि अपिल गरेको छ । मुलुकमा दोस्रो लहरको कोरोनाभाइरस संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएसँगै विदेशी मुलुकसँग सहयोगका लागि अपिल गरेको हो ।

खोप, अक्सिजन, भेन्लिटेरसहितका अत्यावश्यक सामाग्री आपूर्तिको माग गर्दै सरकारले सातभन्दा बढी मुलुकलाई पत्राचार गरेको हो । पराराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिका, बेलायत, अष्टेलिया, जर्मनी, रुस, यूएई र साउदी अरबलाई पत्र लेखेर सहयोगको अपिल गरिएको हो ।

मन्त्रालयले एकसाता अघिमात्रै ती मुलुकलाई पत्र लेख्दै अक्सिजन सिलिण्डर, भेन्टिलेटर, अल्ट्रासाउण्ड, पीपीइलगायतका सामग्रीहरु सहयोग गर्न भनेको हो । नेपालले पत्राचार गरेका मुलुकबाट स्वास्थ्य सामग्री आउने नआउने निश्चित नभएको प्रवक्ता लम्सालको भनाइ छ ।

चीनले अनुदानमा उपलब्ध गराउने मध्ये ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर मंगलबार काठमाडौं आइपुगेको छ । थप स्वास्थ्य सामाग्री स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी भैरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडको दोस्रो लहरपछि नेपालका चीनबाहेक अन्य मुलुकबाट अहिलेसम्म कुनै स्वास्थ्य सामग्री प्राप्त भएको छैन । कोभिड बिरामीका लागि चाहिने अत्यावश्यक सामाग्रीको सूची बनाएर स्वास्थ्य मन्त्रालयले परराष्ट्रलाई बुझाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले अन्य मुलुकबाट ल्याउन अत्यावश्यक सामाग्रीको सूची बनाइ परराष्ट्रलाई बुझाइएको बताए ।

कोभिडको पहिलो लहरको बेला दक्षिण कोरिया, भारत, चीन, स्वीटजरल्यान्ड, युनिसेफ, यूएसएड, कतार राजदूतावास, कम्बोडिया सरकारलगायतले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका थिए । यूएसएडले १०० थान भेन्टिलेटर उपलब्ध गराएको थियो भने अन्यले राष्ट्र तथा नियोगले पीपीई, पंजा, मास्क, सेनिटाइजर, पीसीआर किट्स, चस्मा, गाउन लगायतका सामाग्री प्रदान गरेका थिए ।

भारत र चीनले कोभिड(१९ विरुद्धको खोप क्रमशः १० लाख र ५ लाख डोज उपलव्ध गराएका थिए ।

 

प्रतिक्रिया