

प्रचण्डपत्नी सीताको स्वास्थ्य जटिल, हातखुट्टा चल्दैनन्, पाइपबाट खाना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। उनका हातखुट्टा चल्दैनन् भने खाना पनि पाइपबाट खुवाउने गरिएको बताइन्छ।
५२ औं वैवाहिक बर्षगाँठको सन्दर्भमा सामाजिक सञ्जालमा प्रचण्डसहित सीता, छोरी र नातिनीको तस्बिर सार्वजनिक गरिएको थियो। उक्त तस्बिरमा सीताको अवस्था जटिल रहेको हेक्का गर्न सकिन्छ।
हालै मात्र उनलाई उपचार गर्न भारतको मुम्बई लगिएको थियो। त्यसअघि अमेरिका, सिंगापुरमा पनि सीताको उपचार गराइएको थियो।
सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पीडित छिन्। उक्त रोगलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ। पिएपी एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ।

