ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत नपाउने निश्चितप्रायः छ। उनले विश्वासको मत नपाउनासाथ विकल्पमा सरकार बनाउनका लागि राष्ट्रपति विद्या भण्डारीले दुई वा त्यो भन्दा बढी दललाई आह्वान गर्नेछिन्।

नेकपा हुँदा संविधानको धारा ७६ (१)को सरकार नेतृत्व ओलीले गरेका थिए। नेकपा विभाजन र एमाले र माओवादी ब्युँतिएपछि ओली संविधानको धारा ७६ (२)को सरकारमा परिणत भए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका ओलीले आज विश्वासको मत नपाए राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसारै सरकार गठनका लागि आह्वान गर्नेछिन्।

धारा ७६ को उपधारा २ मा ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ।

उपधारा २ बमोजिम नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्नुपर्छ। जसपा विश्वासको मत दिने विषयमा पनि तटस्थ बस्ने र सरकार गठनका लागि पनि तटस्थ नै रहने संकेत मिलेको छ। यस्तो अवस्थामा संसदका ठूलो दलको हैसियतमा राष्ट्रपतिले फेरि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्।

ओलीले विश्वासको मत लिन नसकेको खण्डमा सदनमा कसैले पनि प्रधानमन्त्रीका लागि दाबी गर्नेछ र त्यो संविधानको धारा ७६ (४) अनुसार हुनेछ। विश्वासको मत लिन नसके संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुनेछन्। विश्वासको मत लिन नसके सोही प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरी निर्वाचन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्नेछ। ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने समयसीमा हुनेछ।

प्रतिक्रिया