राष्ट्रपति उम्मेदवारका दुई ट्वीटः ‘गणना रोक’-ट्रम्प, ‘हरेक मत गणना गर’- बाइडेन
वाशिंग्टन । अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । यसै परिवेशमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प केही वाइडेन भन्दा केही पछि परेको तथ्यांक सार्वजनिक भइरहेको छ ।
यसै परिवेशमा अमेरिकाका दुई राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनका दुईवटा ट्वीटहरु यतिबेलामा सामाजिक सञ्जालमा चर्चित बनेका छन् । जो बाइडेनले ‘हरेक मत गणना गर’ भन्दै ट्वीट गरेको एकदिनपछि ट्रम्पले ‘मतगणना रोक’ भन्दै ट्वीट गरेका छन् ।
बाइडेन हिजो उक्त ट्वीट गरेका थिए भने ट्रम्पले आज गरेका हुन् । ट्रम्पले उक्त ट्वीट गरेको केहीबेरमा रिट्वीट समेत गरेका छन् ।
ट्रम्पले चुनावको मुख्य दिन नोभेम्बर ३ पछि गरेका कम्तीमा ९ वटा ट्वीटहरु ट्वीटरले फ्लाग गरेको छ ।
जर्जिया र मिसिगनमा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अभियानका तर्फबाट मत गणना रोक्न आग्रह गर्दै दायर गरिएको मुद्दा खारेज गरिएको छ । जर्जियामा चुनावको दिनपछि प्राप्त मतपत्रहरु गणना नगर्न माग गर्दै रिपब्लिकनहरुले दायर गरेका मुद्दा न्यायाधिसले खारेज गरिदिएका हुन् ।
हुलाकबाट पठाइएका तर प्रकृयामा नलगिएका मतहरु प्रकृयामा लगिएका मतपत्रहरुसँग मिसाएको आफूहरुले देखेको भन्दै रिपब्लिकनले मुद्दा दायर गरेका थिए । तीनवटा मतपत्रको एउटा खात र ५३ वटा मतपत्रको अर्को खात मिसाइएको आरोप लगाइएको छ ।
त्यस्तै मिसिगनका राज्य न्यायाधिसले मत गणनाको निरिक्षण गर्न अर्थपूर्ण पहुँच हुनुपर्ने माग गर्दै ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा खारेज गरेका छन् । त्यतीबेलासम्मका लागि मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको थियो । तर न्यायाधिस सिन्थिया स्टेफनले ट्रम्प पक्षधरको अनुरोध अस्वीकार गरेको जनाइएको छ ।
त्यस्तै पेन्सिलभेनियामा ट्रम्प पक्षधरलाई मतगणना अझै नजिकबाट निरिक्षण गर्न अदालतले आदेश दिएकोमा उक्त आदेश उल्टाउन फिलाडेल्फियाका निर्वाचन अधिकारीहरुले राज्यको सर्वोच्च अदालतमा माग गरेका छन् । मुद्दामामलाका कारण आज दिउसो केहीबेर मतगणना अबरुद्ध भएको थियो ।