लुम्बिनीमा शंकर पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिकः प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्नु अनैतिक र असंवैधानिक कदम रहेको बताएका छन्।

आइतबार सााझ एक विज्ञप्ती जारी गर्दै उनले अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको पनि उल्लेख गरेका छन्।

आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ’ जारी विज्ञप्तिमा भनिएको छ।

उनले भनेका छन्, ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्याई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र शपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं।’

नेपाली कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको भन्दै प्रचण्डले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया