‘हाइप्रोफाइल’ व्यक्तिहरु, जो कोरोनाको शिकार भएर अस्पतालको बेडमा छन्

नेपाल प्रहरीका ६ जनासँगै सेना र सशस्त्रका २/२ जनाको मृत्यु


काठमाडौं – दोस्रो लहरको नयाँ प्रजातिको कोरोनाबाट पूर्वराजा, पूर्वप्रधानमन्त्रीदेखि बहालवाल मन्त्रीसम्म संक्रमित भएका छन्। कोरोनाको पहिलो लहरमा हाइप्रोफाइल व्यक्तिहरु कमै मात्रामा संक्रमित भएका थिए।

तर, यसपटक पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह दुवै जना कोरोना संक्रमित भएपछि अस्पताल नै भर्ना भएका छन्। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत पूर्वराजाको अवस्था सामान्य रहे पनि पूर्वरानी कोमलको अवस्था गम्भीर छ।

अस्पताल स्रोतकाअनुसार, पूर्वरानी कोमलको अहिले आईसियूमा राखेर उपचार भइरहेको छ। केही समयअघि भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएलगत्तै गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै शाहका छोरी प्रेरणामा पनि कोरोना पुष्टी भएको छ । र, प्रेरणाको पनि नर्भिक अस्पतालका उपचार भईरहेको छ ।

त्यस्तै संक्रमित हुनेमा अर्का हाइप्रोफाइल व्यक्ति हुन्, नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल। गत शनिबार संक्रमण पुष्टि भएपछि खनालको पनि नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री खनालले नेता तथा कार्यकर्तासँग बाक्लै उठ्बस गरेका थिए। केही समयअघि खनालले भारत गएर उपचार गरेर फर्किएका थिए। यद्यपी उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

त्यस्तै क्याबिनेटका मन्त्रीहरु समेत कोरोनाको शिकार भएका छन्। प्रधानमन्त्री तथा क्याबिनेटका मन्त्रीहरू एकपछि अर्को संक्रमित बनेपछि मन्त्रिपरिषदमा सहभागी हुने सबै कन्ट्रयाक्ट ट्रयासिङमा परेको बालुवाटार स्रोतले बतायो।

अहिलेसम्म ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणिचन्द्र थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई समेत कोरोना पुष्टि भएको छ।

पर्यटनमन्त्री ढकालको श्रीमती इन्दिरा फुयाल समेत कोरोनाको शिकार भएकी छन्। उनीहरू चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यता, पूर्वप्रधानसेनापति रुकमांगद कटवाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको शिकार कटवाल कटवाल तीन सातादेखि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत छन्। यद्यपी उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुंगेल र विष्णु रिजाललाई समेत कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य नै रहेको छ।

यसैगरी बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको त परिवारका सबै सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो। यद्यपि, श्रेष्ठ निको भएर अस्पतालदेखि घर फर्किसकेका छन्।

त्यस्तै सुरक्षाकर्मीहरु पनि उत्तिकै कोरोनाको शिकार भएका छन्। सुरक्षा निकायतर्फका १० जनाको त मृत्यु नै भएको छ। ज्यान गुमाउनेमा सबैभन्दा धेरै नेपाल प्रहरीका ६ जना छन्। नेपाली सेना र सशस्त्रका २/२ जनाको पनि कोरोनाका कारण मृत्यु भएको छ।

नेपाल प्रहरीमा १५६, सेनामा ४३ र सशस्त्रमा ६ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणको जोखिम बढेपछि थप सतर्कता बढाएको तीनवटै सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया