लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल दिए राजीनामा


लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएका छन्।

मुख्यमन्त्री पोखरेलले केही बेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।

उनी विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। आज प्रदेश सभामा उनी विरुद्धको अविश्वास प्रस्ताव पेस हुन लागेको छ।

विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ भने उनीहरूको सांसद पद खारेज भइसकेको छ।

उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ। उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नेछन् ।

प्रतिक्रिया