
कोरोना भाइरस भारतः कोभिड-१९ ले मृत्युदर बढेपछि चौबीसै घण्टा सामूहिक दाहसंस्कार
कोरोनाभाइरस महामारीका कारण भारत अहिले अभूतपूर्व सङ्कटमा परेको छ। कोभिड-१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको सङ्ख्या ह्वात्तै बढेको छ।
भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघिसकेको छ। यहाँ प्रस्तुत गरिएका केही तस्बिरले कसैकसैलाई विचलित पार्न सक्छन्।
विगत सात दिनमा भरतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोभिड-१९ पुष्टि भएको छ। अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ। अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन्।
अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्।
हिन्दू धर्मावलम्बीहरूका लागि अन्त्येष्टि अर्थात् दाहसंस्कार एकदमै महत्त्वपूर्ण मानिन्छ। भारतको राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ।
अन्तिम संस्कारका लागि आवश्यक दाउरा जुटाउन सहरका उद्यानमा भएका रूखहरू काट्न थालिएको छ। मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको छ।
दिल्लीमा मृतकका आफन्त र मसानघाटका कर्मचारीहरू अन्त्येष्टिमा सहभागी भएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ।
पीपीई लगाएका एक व्यक्ति आफ्ना आफन्तको अन्त्येष्टिका लागि चिता बनाउन दाउरा ओसार्दै
दाहसंस्कारका लागि बनाइएका चितानजिकै एक स्वास्थ्यकर्मी
सामूहिक अन्त्येष्टिका लागि चिता तयार पारिँदै (तल र माथि)

केही मसानघाटमा अहोरात्र चिताहरू जलिरहेका छन्

घाटका कर्मचारीहरू बिनाविश्राम काम गरिरहेका छन्
केही सातादेखि कोभिड-१९ का कारण मृत्यु बढेकाले दाहसंस्कार गर्ने स्थानमा चाप बढेको छ
ड्रोनबाट खिचिएको यो तस्बिरमा दिल्लीनजिकै सामूहिक दाहसंस्कार भएको दृश्य देखिन्छ
यी बालक आफ्ना पिताको अन्तिम संस्कारका बेला शोकाकुल देखिन्छन्
आफन्तको अन्तिम संस्कारका बेला यी दुई दिल्लीवासी भाविह्वल छन्
अरू एकअर्कालाई सान्त्वना दिइरहेका छन्
धेरै मानिसले आफ्ना स्वजनको अन्त्येष्टि गर्न घण्टौँ पालो कुर्नुपरेको छ
परिवारका सदस्यहरू चितानजिकै बसेका छन्
यो घाटमा धुवाँ उडिरहेको छ। बीबीसी


कागजपत्र |
