विमान चढ्नु अघि कोरोना रिपोर्ट नेगेटिभ देखाएका मध्ये ५२ जना संक्रमित


एजेन्सी – दिल्लीबाट हङकङका लागि उडेको विमानका५२ यात्री कोरोनाद्वारा संक्रमित भेटिएका छन् ।

भारतीय एयरलाइन्स भिस्ताराद्वारा सञ्चालित विमानमा गत अप्रिल ४ मा यात्रा गरिरहेका ५२ यात्रीमा कोरोनाको संक्रमण देखिएको हो । तर उनीहरुले विमानमा यात्रा गर्नुअघि प्रत्येक यात्रीले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएका थिए ।

यो विमानभित्र भेटिएका कोरोना संक्रमितभन्दा पूरा हङ्गकङभर दैनिक भेटिने गरेका संक्रमितको संख्या कम छ । हङ्गकङले जनवरीमा कोरोनाको चौथो लहरमाथि नियन्त्रण पाएको थियो । यता भारतमा भने दैनिक २८ सय बढीको मृत्यु भइरहेको छ । त्यहाँको स्वास्थ्य प्रणाली पनि धराशयी बनेको छ ।

उक्त विमानमा १८८ जना यात्री भएको बताइएको छ । यद्यपि, हङकङका अधिकारीले यात्रीको यकिन जानकारी दिएको छैन । स्वास्थ्य विज्ञले विमानभित्रको भेन्टिलेसन प्रणालीका कारण अन्य यात्रीमा कोरोनाको संक्रमण सर्ने सम्भावना निकै कम भएको धारणा राखेका छन् ।

विज्ञका अनुसार यतिका धेरै यात्री कोरोनाद्वारा संक्रमित देखिनुमा चार कारण हुनसक्छन् ।

पहिलो कारण – विमान यात्राका लागि ७२ घण्टा पूर्व गर्नुपर्ने परीक्षण पश्चात् उनीहरु संक्रमित भएको हुनुपर्छ ।

दोस्रो कारण – भारतको स्वास्थ्य प्रणालीले त्यहाँको स्थिति थेग्नै नसकेका कारण यसबारे सटिक जानकारी पत्ता लगाउन सकेन अथवा कतिले नक्कली परीक्षण रिपोर्ट पनि बनाएको हुनुपर्छ ।

तेस्रो सम्भावना यो हो कि यात्रीहरूलाई हङकङकै क्वारेन्टिन होटलमा संक्रमणले गाँजेको हुनुपर्छ । अथवा, विमानभित्र रहेको भेन्टिलेसन प्रणालीका बावजुद कोरोनाको गम्भीर किसिमको स्ट्रेन यात्रीबीच सरेको हुनुपर्छ ।

हङकङको सरकारले तीन हप्ताको बाध्यकारी क्वारेन्टिन तोकेको अवधिमा यस्तो रिपोर्ट आएको हो ।

प्रतिक्रिया