कतारमा कोरोना संक्रमितको संख्या २ लाख बढी


दोहा – नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक कतारमा कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ ।

शुक्रबार थप ७९८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ७७८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२९७ जना उपचारपछि निको भएका छन् ।

योसँगै उपचारपछि निको हुनेको संख्या १ लाख ८४ हजार ४६१ पुगेको छ । २४ घण्टामै ३९, ४०, ४९, ५७, ६० र ६९ बर्षीय नागरिक गरी थप ६ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४१३ पुगेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २१ हजार ९०४ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १ हजार १६० जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४४१ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १३ लाख ७२ हजार ३९६ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रतिक्रिया