काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोड्नेगरी ‘बुद्ध–परिपथ’ निर्माण सुरु


धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण–पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।

काभ्रेका सांस्कृतिक धरोहर मानिने पनौती, नमोबुद्ध र तेमाललाई जोडेर परिपथ निर्माण गर्न सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंका अनुसार क्रमागत बजेटमार्फत सम्पन्न गरिने यो योजनाको गुरुयोजना तयार भइसकेको छ।

पहिलो चरणमा १० करोड रुपैयाँ खर्च गरी पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब ८ किलोमिटर सडक क्षेत्रमा बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ।

उनका अनुसार सडकका दायाँबायाँ माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा र थान्कासहितका जानकारीमूलक बोर्डहरू राखिनेछन्।

परिपथअन्तर्गत नमोबुद्ध–भकुण्डे सडकखण्डको दाप्चास्थित बोक्से सामुदायिक वनमा ‘रतुवा मृग पार्क’ निर्माणका लागि प्रदेश सरकारसँग प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, बीपी राजमार्गको चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ बनाइनेछ। नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको २५ किलोमिटर सडक क्षेत्रलाई पनि बुद्ध सम्पदाले सजाइने योजना छ।

योजनाको अर्को मुख्य आकर्षणका रूपमा तेमालको याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको विशाल मूर्ति स्थापना गरिनेछ। सोही स्थानमा थान्का लेखन विद्यालय, घण्टाघर, शान्ति चैत्य र पार्किङस्थल निर्माण गरिने सांसद चौलागाईंले जानकारी दिए।

ऐतिहासिक पनौतीको त्रिवेणीघाट, राजकुमारले सुत्केरी बघिनीलाई देहत्याग गरी जीवनदान दिएको धार्मिक मान्यता बोकेको नमोबुद्ध र तामाङ सभ्यता तथा गुरु पद्मसम्भवको ध्यानभूमिका रूपमा परिचित तेमाललाई जोड्ने यस परिपथले काभ्रेको समग्र पर्यटकीय प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया