
वर्षा र पहिरोले देशभरका यी मुख्य राजमार्ग प्रभावित
काठमाडौं- अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही सडकमा भने वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्म तौल भएका मालवाहक तथा ढुवानीका साधन सञ्चालन हुने प्रहरीले जनाएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारीसाधन सञ्चालनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउन तथा काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सक्नेछन्।
मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनले उक्त पुल प्रयोग नगरी छेउको डाइभर्सन प्रयोग गर्नुपर्नेछ।
विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी चालकले आफ्नो पालोमा धैर्य र अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न भनिएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको रातिको आवतजावतमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। भदौ ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।
त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि रसुवा र नुवाकोटको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेँसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेँसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने पजनाइएको छ।
धादिङको पृथ्वी लोकमार्ग पनि प्रभावित भएको छ। भदौ १४ गते बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकखण्डमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही दिन गजुरी गाउँपालिका–२ परेवा भीरस्थित पृथ्वी लोकमार्गको तल्लो भाग बाढीका कारण भासिए पनि एक लेनको बाटो सुचारु भएको जनाइएको छ।



कागजपत्र |
