
सिमलतालको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडक पूर्ण सञ्चालन
चितवन – मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध यातायात सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बुधबार बिहान चितवनको सिमलताल नजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । पहिरोले सडक ढाकेपछि दुवैतर्फको आवागमन रोकिँदा सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै रोकिएका थिए।
सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै सडक डिभिजन कार्यालय भरतपुरले आवश्यक उपकरण र प्राविधिक टोली घटनास्थलमा परिचालन गरेको थियो।
एक्स्काभेटरलगायतका मेसिन प्रयोग गरी लेदोसहितको पहिरो हटाउने काम तीव्र रूपमा अघि बढाइएको थियो।
पहिरो हटाएर सडक सफा गरेपछि दुवैतर्फको यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढ्न थालेका छन् ।



कागजपत्र |
