देशका विभिन्न ३९ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका ३९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले शनिबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तल छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै रहेको छ।

तथापि ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, इलाम, सुनसरी, झापा, मोरङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, गुल्मी, पर्वत, बाग्लुङ, चितवन, नवलपरासी पूर्व, सुर्खेत, दैलेख, मुगु, जाजरकोट, डोटी, डडेल्धुरा, अछाम, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहन सक्ने महाशाखाले जनाएको छ।

आगामी दुई दिन पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ। नदी तटीय क्षेत्रमा बस्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रतिक्रिया