सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु


काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरहाको लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो ४:०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषण र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आदेश जारी गरेका हुन् ।

प्रशासनका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिकाको पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) र दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्गको ५०० मिटर वरपरको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।

कर्फ्यु जारी गरिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, प्रदर्शन, सभा, बैठक, घेराउ तथा नाराबाजी गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

आदेशको उल्लङ्घन गर्ने वा गतिविधि गर्ने जोकोहीलाई सुरक्षाकर्मीले चेतावनी दिई गोलीसमेत चलाउन सक्ने व्यहोरा जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया