आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै


काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७१ साल भदौ २४ गते जन्मिएर नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ कोइराला स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट पनि नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिएका छन् ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वरिष्ठ अधिवक्ता स्वर्गीय गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ पनि प्रकाशित छन् ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई २०६१ साल भदौ २४ गते बीपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । जहाँ बीपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको बनाइएको छ ।

सङ्ग्रहालयमा बीपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ ।

यसैबीच, पार्टीका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसमा कांग्रेसका दुई समूहले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

संस्थापन पक्षले ‘ग्रिन रन’लगायतका कार्यक्रमको आयोजना गरेको छ भने संस्थापन इतर समूहले काठमाडौँको प्रज्ञा भवन कमलादीमा भेलाको आयोजना गरेको छ ।

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा प्रष्टसँग दुई धार देखिएको छ । इतर पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि कांग्रेसभित्रको मतभेद विभाजनको स्थितिसम्म पुग्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया