
कतै यात्रा गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् है बाढीले अवरूद्ध छन् यी राजमार्ग
काठमाडौं – देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। बिहान ६ः०० बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा सडक एकतर्फी मात्र सुचारु छ। त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, यी दुवै स्थानमा वैकल्पिक बाटोको व्यवस्था रहेको जानकारी दिइएको छ।
बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो जाँदा सडकको अवस्था अस्तव्यस्त छ।
कान्ति लोकपथको बकैया–११ मा सडक पूर्ण रूपमा अवरुद्ध छ भने भीमफेदी खण्डमा एकतर्फी मात्र सञ्चालनमा छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प भएको छ।
गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडक खण्ड र बागलुङको मध्य पहाडी लोकमार्ग (इनारपानी) मा वर्षा र पहिरोका कारण यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। गुल्मी जिल्लाका कालीगण्डकी करिडोर र रुद्रबेणी सडक खण्डका विभिन्न तीन स्थानमा पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु छ।
अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षा र पहिरोको जोखिमले गर्दा कार्यमा बाधा पुगिरहेको छ। धेरै ठाउँमा सडक एकतर्फी मात्र खुलेकाले सवारी जाम र जोखिम बढ्न सक्ने देखिएको छ।
प्रहरी र सडक विभागले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा अत्यवश्यक बाहेकको यात्रा नगर्न अनुरोध गरेका छन्।



कागजपत्र |
