
सशस्त्रको आर्थिक अनियमिततामा लिला लामा को हुन्?
प्रेम आलेले गरे नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्ति | १० वर्ष कैद सजाय पाएका लामालाई झलनाथ खनाल सरकारले २०६७ सालमा दियो आममाफी | अनुसन्धान अब विगतको पृष्ठभूमितर्फ पनि केन्द्रित
काठमाडौं – सशस्त्र प्रहरी बलको कल्याणकारी कोषसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरण अब लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङमा मात्र सीमित नरही बाह्य व्यक्तिहरूको भूमिकातर्फ पनि केन्द्रित भएको छ।
सुरुमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक रूपमा छानबिन अघि बढाएको थियो। स्रोतका अनुसार छानबिनका क्रममा रकमको कारोबारमा बैंकिङ प्रणाली र बाह्य व्यक्तिहरूको समेत संलग्नता देखिएको आशंकापछि प्रकरणलाई संगठित आर्थिक अपराधको कोणबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि सशस्त्र प्रहरी नेतृत्वले नेपाल प्रहरीसँग समन्वय गरी थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको स्रोतको दाबी छ। यसबारे सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
अनुसन्धानको केन्द्रमा रहेका व्यक्तिमध्ये लीलाबहादुर लामा सञ्चालक रहेको भनिएका केही कम्पनीका खातामा रकम पुगेको विषय अनुसन्धानको मुख्य आधार बनेको बताइन्छ। अब प्रश्न उठेको छ—लिला बहादुर लामा को हुन्, र उनको पृष्ठभूमि के छ?
सुरक्षा स्रोतहरूका अनुसार लीलाबहादुर लामाको विगतका केही आपराधिक मुद्दासँग सम्बन्ध रहेको दाबी गर्दै अनुसन्धानकर्ताले उनको पृष्ठभूमिसमेत केलाइरहेका छन्। उनी विगतमा सहकारी तथा बैंकिङसम्बन्धी विवाद, लागूऔषधसम्बन्धी मुद्दा लगायतका घटनामा अनुसन्धान वा कारबाहीको दायरामा परेका थिए भन्ने दाबीसमेत विभिन्न स्रोतबाट गरिएको छ। यद्यपि, ती घटनाको वर्तमान कानुनी अवस्था र अन्तिम न्यायिक निष्कर्षबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
त्यस्तै, लीलाबहादुर लामाको वास्तविक परिचय, नागरिकतासम्बन्धी विवरण, विगतको आर्थिक गतिविधि तथा पछिल्ला वर्षहरूमा जोडिएको सम्पत्तिको स्रोतसमेत अनुसन्धानको विषय बन्नुपर्ने आवाज उठ्न थालेको छ। यसबारे सम्बन्धित निकायले स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न बाँकी छ।
सुरक्षा स्रोतहरूका अनुसार अनुसन्धान अब रकम स्थानान्तरणको प्रक्रिया, सम्बन्धित बैंक तथा भुक्तानी प्रणाली प्रयोग गर्ने व्यक्तिहरू, र सम्भावित संगठित सञ्जालको भूमिकातर्फ केन्द्रित हुँदै गएको छ। यदि आर्थिक अनियमितता योजनाबद्ध रूपमा भएको पुष्टि भयो भने यो प्रकरण व्यक्तिगत त्रुटिमा सीमित नरही संगठित आर्थिक अपराधको रूपमा अघि बढ्न सक्ने देखिन्छ।
यस घटनामा संलग्नता, जिम्मेवारी वा कसुरको अन्तिम टुंगो भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट मात्रै लाग्नेछ।
को हुन् लामा ?
काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ का स्थायी बासिन्दा रहेका हाल भक्तपुरको सुर्यविनायकमा बस्दै आएका लिला बहादुर लामा तामाङलाई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेले २०७८ साल फागुन ६ गते नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्त गरेका थिए । उनलाई टासी लामा नामले समेत चिनिन्छ ।
माओवादी द्वन्द्वकालमा बैंक लुटपाटको आरोपमा पक्राउ परि उनी जेल सजाय काटेका थिए । उनी २० लाख रकम र लागु औषध १५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।
लामालाई एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकार कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले २०६२ सालमा १० वर्षको कैद सजाय तोकेपनि फरार रहेका थिए ।
उनी २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफि सपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए। त्यसबेला लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो। लामालाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर आममाफी दिँदै जेलबाट रिहा गरिएको थियो ।



कागजपत्र |
