देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको थियो।

आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। यी प्रदेशका एक÷दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो।

भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले बताएको छ।

‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्छ,’ विभागले भनेको छ, ‘त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन अनुरोध छ।’

जलवायुविज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,– मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिम केन्द्रित हुँदै गएको छ। ‘बिजुली चम्केको घनत्व लुम्बिनी, पश्चिम चुरे र तराईमा बढी देखिन्छ।’

कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घन्टामा १०९ मिमि वर्षा भएको उनले बताएका छन्। लुम्बिनी पश्चिमदेखि सुदूरपश्चिम भागमा आज रातिको बिहानीपखको समयमा बढी वर्षाको पूर्वानुमान रहेको उनको भनाइ छ। मध्य मधेसमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनले प्रस्ट पारेका छन्।

 

प्रतिक्रिया