
कैलालीमा ग्रिनेड विस्फोटमा एक सैनिकको मृत्यु, अर्का घाइते
धनगढी – कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
बिहीबार बिहान ९:१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट सञ्चालन गरिएको अभ्यासका क्रममा ग्रिनेड पड्काउने क्रममा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।
घाइते विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
