चालिसेको डेनमार्क भ्रमण विवादमा, आधिकारिक जनसम्पर्क समितिलाई बेवास्ता गरिएको आरोप


डेनमार्क – नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ। जनसम्पर्क समिति डेनमार्कले पार्टीको आधिकारिक संरचना र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै गतिविधि सञ्चालन गरिएको आरोप लगाउँदै केन्द्रीय नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

समितिका अनुसार नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट प्रवक्ता चालिसेको डेनमार्क भ्रमणबारे कुनै औपचारिक जानकारी, पत्राचार वा समन्वय गरिएको थिएन। तर सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरिएपछि डेनमार्कस्थित कांग्रेस कार्यकर्ताबीच असन्तुष्टि बढेको बताइएको छ। समितिले ती कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ।

डेनमार्कस्थित नेपाली काँग्रेस समर्थकहरूबीच लामो समयदेखि सक्रिय रहेको नेपाली जनसम्पर्क समिति, डेनमार्कले आफूलाई पार्टीको आधिकारिक प्रवास संगठन भएको दाबी गर्दै आएको छ। समितिका अनुसार छैटौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष यादव बस्नेतको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिलाई नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले वैधानिक मान्यता प्रदान गरेको छ। तर, उक्त मान्यता हुँदाहुँदै पनि आधिकारिक संरचनालाई बेवास्ता गर्दै अन्य समूह र गतिविधिलाई प्राथमिकता दिइएको आरोप लगाइएको छ।

समितिका अनुसार संगठनात्मक सुदृढीकरणका लागि करिब सात महिनासम्म आधिकारिक फेसबुक पेजमार्फत अनलाइन आवेदन खुला गरी क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा जनसम्पर्क समितिको शुल्क र कार्यसमितिको लेभीसमेत केन्द्रमा बुझाइसकिएको थियो। आवश्यक सदस्यता विवरण, प्रमाण र अभिलेखहरू समेत केन्द्रमा पठाइसकिएको दाबी गरिएको छ।

प्रतिक्रिया