
राप्रपा केन्द्रीय समितिको बैठक आजदेखि
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । तर बैठक प्रारम्भ हुनुअघि नै पार्टीभित्र गम्भीर विवाद चर्किएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत केन्द्रीय सदस्य नभएका व्यक्तिहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाउँदै असन्तुष्ट समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान ११ः३० बजेदेखि सुरु हुने बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरू तथा एकता प्रक्रियामार्फत आएका कमल थापा पक्षका करिब ६५ जनालाई पनि सहभागी गराउने तयारी भएपछि विवाद उत्कर्षमा पुगेको हो।
असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकमा निर्वाचित केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई सहभागी गराउनु पार्टी विधान, संगठनात्मक पद्धति र लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गरेको छ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्यबाहेक अन्यलाई बैठकमा सहभागी नगराउन आग्रह गरेका थिए।
निर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले आफू लगायत विधि र विधानको पक्षमा रहेका नेताहरूले शुक्रबारको बैठकमा सहभागी नहुने बताएका छन्।



कागजपत्र |
