

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन सांसदलाई मन्त्री ‘पुरस्कार’

काठमाडौं – शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। विश्वासको मत लिइसकेपछि शाहीले मन्त्रिपरिषद हेरफेर गरेका हुन्।
पार्टी ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन एमाले सांसद नन्दसिंह बुढा, अमरबहादुर थापा र कर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका छन्।
शुक्रबारको प्रदेशसभा बैठकमा उनीहरुले सरकारको पक्षमा मतदान गरेका थिए। बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, थापा भौतिक पूर्वाधार विकास मन्त्री र शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्।
उनीहरु तीनैजनालाई आज एमालेले पार्टी र संसदबाट निस्काशित गर्ने निर्णय गरिसकेको छ। प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ। मुख्यमन्त्री शाहीले भने एमालेबाट निस्कासित तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्।
३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन्। नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन। तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए।

