‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा


मुस्ताङ-  मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका  ती  सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ । कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

कोरलानाकाबाट  ती सबै विद्युतीय सवारीसाधनलाई साइमन ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो । ती सवारीसाधनको कैफियत रहे ÷नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो ।

सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ२१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त  समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा  कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।

प्रतिक्रिया