लैनचौर प्रहरी वृत्तका सई व्यापारीसँग रकम लिएको आरोपमा निलम्बित


काठमाडौं – व्यापारीसँग रकम लिएको आरोप लागेपछि काठमाडौंको सोह्रखुट्टेस्थित लैनचौर प्रहरी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) निलम्बनमा परेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सई गणेश भट्टलाई प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा निलम्बन गरिएको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ठमेल क्षेत्रका केही व्यापारीसँग रकम लिएको आरोपबारे उजुरी परेपछि छानबिन अघि बढाइएको थियो । अनुसन्धानका क्रममा सो आरोपसँग सम्बन्धित प्रमाण फेला परेपछि उनलाई निलम्बन गरिएको हो ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । प्रारम्भिक चरणको अनुसन्धानपछि थप तथ्य र प्रमाण प्राप्त भए कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम राख्न यस्ता घटनामा शून्य सहनशीलता अपनाइने बताएको छ । थप अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया