राैतहटबाट ९० लाख बढीको फर्सीको बीउ बरामद


रौतहट- नेपाल–भारत सीमाबाट रौतहट प्रहरीले अश्रुग्यास प्रहार गरेर ९० लाख बढीको अवैध फर्सीको बीउ बरामद गरेको छ । बरामद बीउ ३ सय २२ बोरामा १२ हजार ८ सय ८० किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा गर्ने क्रममा ६ जना सामान्य घाइते भएका छन् । बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ स्थित बंकुल टोल क्षेत्रमा छापा मारेको थियो ।

सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ठूलो परिमाणमा फर्सीको बीउ फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । बरामद बीउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले उपरीक्षक रिजालले जानकारी दिए ।

विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उक्त फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा ढुङ्गामुडा हुँदा ३ प्रहरी र ३ स्थानीय गरेर ६ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको उपरीक्षक रिजालले बताए ।

प्रतिक्रिया