फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या ४५ पुग्यो, ४८७ घाइते


काठमाडौं – फिलिपिन्सको दक्षिणी मिन्डानाओ क्षेत्रको तटीय क्षेत्रमा सोमबार आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) का अनुसार बुधबारसम्म १७ जना बेपत्ता रहेका छन् भने ४८७ जना घाइते भएका छन्।

एनडीआरआरएमसीका अनुसार भूकम्पबाट ३३ हजारभन्दा बढी परिवारका करिब एक लाख ५० हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। प्रभावित क्षेत्रहरूमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्य जारी रहेका छन्।

भूकम्पका कारण अस्पताल, विद्यालय, पुल तथा अन्य सार्वजनिक संरचनासहित २३८ वटा पूर्वाधारमा क्षति पुगेको जनाइएको छ। साथै विभिन्न स्थानमा पहिरो र संरचना भत्किँदा जनधनको ठूलो क्षति भएको छ।

अधिकांश मिन्डानाओ क्षेत्र तथा मध्य फिलिपिन्सका केही भागमा भूकम्पको तीव्र कम्पन महसुस गरिएको थियो। मुख्य भूकम्पपछि १,७०० भन्दा बढी पराकम्प रेकर्ड गरिएको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सारङ्गानी र दक्षिण कोटाबातो प्रान्त रहेका छन्। यी क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस विस्थापित भएका छन्।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३७ बजे ३३ किलोमिटर गहिराइमा भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारङ्गानी प्रान्तस्थित मासिम नगरको तटबाट करिब ३२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो।

प्रतिक्रिया