
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं- मन्त्रिपरिषद्को बैठकले ऊर्जा, प्रशासन र सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले चारवटा प्रमुख निर्णय गरेको जानकारी दिए।
उनका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ। स्वीकृति पाउने आयोजनामा तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजना रहेका छन्। यस निर्णयसँगै ती आयोजनाहरूले आवश्यक वन क्षेत्र प्रयोग गर्न पाउनेछन्।
मन्त्रिपरिषद्ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्तावित निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई पनि स्वीकृति दिएको छ। उक्त संशोधनले निजामती प्रशासन व्यवस्थापनमा आवश्यक व्यवस्था समेट्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, लामो समयदेखि नेतृत्व र व्यवस्थापनसम्बन्धी विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तथा व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई समेत ग्रहण गरेको छ। प्रतिवेदन कार्यान्वयनबारे सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले हाल प्रतिवेदन ग्रहण गर्ने निर्णय मात्र भएको र अब त्यसको अध्ययनपछि आवश्यक निर्णय गरिने बताए।
यसैबीच उनले काठमाडौँमा मेट्रो रेल तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै त्रिभुवन विश्वविद्यालयको बजेट कटौती नहुने स्पष्ट पारे। सरकार उच्च शिक्षाको बजेट संरक्षण गर्दै आवश्यक सुधारका कार्यक्रम अगाडि बढाउने तयारीमा रहेको उनको भनाइ थियो।



कागजपत्र |
