
कक्रोच जनता पार्टीका संस्थापक अभिजित भारत फर्किने, दिल्लीमा प्रदर्शनको तयारी
काठमाडौं- कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन्। हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन ६ मा स्वदेश फर्कन लागेका हुन्।
कक्रोच जनता पार्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिपके भारत फर्किन लागेको जानकारी सार्वजनिक गरेको छ। यससँगै पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीमा विरोध प्रदर्शनको घोषणा पनि गरेको छ।
भारतमा विभिन्न महत्वपूर्ण परीक्षाका प्रश्नपत्र परीक्षा अगावै चुहिएको घटनापछि शिक्षामन्त्रीको राजीनामा माग बढिरहेको छ। कक्रोच जनता पार्टीले परीक्षा प्रणालीमा देखिएको गम्भीर त्रुटिका कारण एक करोडभन्दा बढी विद्यार्थीको भविष्य प्रभावित भएको दाबी गरेको छ।
पार्टीले परीक्षा अनियमितताबाट सिर्जित तनावका कारण केही विद्यार्थीले ज्यानसमेत गुमाउनुपरेको उल्लेख गर्दै सरकारले त्यसबारे कुनै ठोस जिम्मेवारी नलिएको आरोप लगाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीले दिल्लीस्थित जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको छ।
अभियानलाई थप सशक्त बनाउन संस्थापक दिपकेले आफ्ना समर्थकहरूलाई आफू स्वदेश फर्किने दिन विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन्। साथै, त्यहाँबाट एकजुट भएर जन्तरमन्तरमा प्रदर्शनका लागि अनुमति माग्न पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेशनसम्म जाने योजना पनि सार्वजनिक गरिएको छ।



कागजपत्र |
