निजी विद्यालयको शुल्कमा ३ प्रतिशत कर लगाउने निर्णय फिर्ता लिन अभिभावक संघको माग


काठमाडौं- अभिभावक संघ नेपालले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबाट लिइने शुल्कमा तीन प्रतिशत समता शुल्क (कर) लगाउने सरकारी निर्णय पुनर्विचार गर्न माग गरेको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालयका विद्यार्थीको शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेको थियो।

यस निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले शिक्षा राज्यको दायित्व भएको उल्लेख गरेको छ। सामुदायिक विद्यालयप्रति विश्वास नलागेर आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउन बाध्य भएका अभिभावकमाथि थप आर्थिक बोझ पर्ने संघको भनाइ छ।

संघले जारी गरेको विज्ञप्तिमा निजी विद्यालयको शुल्क नै महँगो रहेको अवस्थामा थप कर लगाउँदा लाखौँ अभिभावक प्रत्यक्ष रूपमा प्रभावित हुने उल्लेख गरिएको छ।

“गुणस्तरीय शिक्षाको खोजीमा शुल्क तिरेर निजी विद्यालयमा सन्तान अध्ययन गराइरहेका अभिभावकलाई थप तीन प्रतिशत करले थप आर्थिक भार पर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

अभिभावक संघले निजी विद्यालयको चर्को शुल्क र त्यसमा थपिएको करका कारण अभिभावकहरू थप समस्यामा पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया