
काभा भलिबलः फाइनल प्रवेशका लागि इरानसँग भिड्दै नेपाल
काठमाडौं – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ ।
समूह चरणको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको नेपालले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। नेपालले दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।
निरुता ठगुन्ना कप्तान रहेको नेपाली टिममा उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ छन् ।



कागजपत्र |
