हिमाली वातावरण जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूप जोगाउन र हिमाली वातावरण संरक्षणमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे।

उनले सगरमाथा क्षेत्रको संरक्षण र यसको सन्तुलित उपयोगमार्फत पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा आर्थिक योगदान दिने आधार बनाउन सकिने बताए।

साथै, हिमाली पर्यटन र पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउनु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै गएका असरप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले भने, ‘जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रको फोहोर व्यवस्थापन अहिले ठूलो चुनौती बनेका छन्।’

उनका अनुसार हिमाली क्षेत्रमा बढ्दो प्रदूषण, फोहोर र तापक्रम वृद्धिले जैविक विविधता तथा पर्वतारोहण गतिविधिमा प्रत्यक्ष असर पारिरहेको छ।

त्यसैले यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र निरन्तर संवाद आवश्यक रहेको उनले जोड दिए।

राष्ट्रपति पौडेलले यस्ता सम्मेलनहरूले पर्वतारोहणबाट प्राप्त अनुभव र ज्ञानलाई सगरमाथा क्षेत्रको संरक्षण र दिगो विकासमा उपयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया