
प्रधानमन्त्री बालेन छिट्टै संसदमा आउने सभामुखको आश्वासन
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभामा उपस्थित नभएको विषयलाई लिएर संसद्मा उत्पन्न गतिरोधपछि सभामुख डोलेन्द्रप्रसाद अर्यालले प्रधानमन्त्री छिट्टै सदनमा उपस्थित हुने स्पष्ट पारेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको अनुपस्थितिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट प्राप्त जानकारी उद्धृत गर्दै उनी छिट्टै संसद्मा आउने आश्वासन दिएका हुन्।
सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्। उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यू संसद्मा आएर यहाँहरूले उठाउनुभएको प्रश्नको उत्तर दिनुहुनेछ।”
सभामुखले प्रधानमन्त्रीको उपस्थितिको मिति भने संसद् सञ्चालन भइरहेकै दिन आपसी समन्वयपछि तय गरिने स्पष्ट पारेका छन्। उनका अनुसार प्रधानमन्त्रीसँग समन्वय गरी औपचारिक रूपमा बैठकमा उपस्थित हुने समय सार्वजनिक गरिनेछ।
“म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु,” सभामुख अर्यालले भने, “उहाँले छिट्टै सदनमा आएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने बताउनुभएको छ, मैले त्यही जानकारी यहाँहरूलाई दिएको हुँ।”
प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष जवाफको माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुखको यस्तो आश्वासन आएको हो। सभामुखको भनाइसँगै प्रतिनिधिसभा सञ्चालनका विषयमा छलफल अघि बढेको छ।



कागजपत्र |
